Thursday, August 28, 2014

नष्ट गर्ने कि उपयोग?


(0 votes)
गएको साउन १४ गते नागरिकमा प्रकाशित समाचारमा लेखिएको थियो– तेलको भण्डारमा छापा मारिँदा मिति नाघेका, लेबल नलागेका र अखाद्य दस हजार लिटर तेल फेला पर्‍यो र उक्त तेल जफत गरियो।
त्यही दिन नै डोजरबाट खाल्डो खनी पुर्ने तयारी भन्ने आसयसहितको समाचार देखेपछि दस हजार लिटर तेल भनेको ठूलो परिमाण हो जसलाई खेर जान दिनुहुन्न भन्ने लाग्यो। यसै त विज्ञान तथा प्रविधि क्षेत्र पछि पारिएको छ, अझ त्यसमाथि कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै बिस्तारै बजेट बढाएर लानुको सट्टा यसपाला बजेट घटाइएको छ। त्यसैले पनि सजीवन खोज्न जानुभन्दा सरकारले नै जफत गरेको तेल आफूलाई नै उपयोगी हुने या देशलाई कम लाग्ने भनी हरसम्भव प्रयास गरें। खाद्य अनुसन्धान प्रयोगशाला, स्थानीय सिडियो कार्यालय र नागरिक दैनिकमा सम्पर्क गर्दै तेलको अन्य प्रयोगको सम्भाबनाबारे कुरा गरें र भनेँ– त्यसबाट हामी करिब दश हजार लिटर नै डिजेल जस्तै पदार्थ निर्माण गर्न सक्छौं, त्यो हामीलाई उपलब्ध गराइदिनूस्। त्यसो भन्न नभ्याउँदै बाराको सिडियो कार्यालयका एक कर्मचारीले अट्टहाँस गर्दै एकै सासमा भने– हामीले त बिहानै त्यो तेल पोलिसक्यौं। यी सबै परिघटनासँगै मलाई लाग्यो– यो देशको परिपाटीभित्र प्रणालीगत त्रुटि छन् जसलाई सचेत नागरिकले आत्मसात गर्नुपर्छ र परिवर्तन गर्नुपर्छ भन्नका लागि यही सेरोफेरोमा रहेर कलम चलाउँदै छु।
सरकार भनेको जनसरोकारका जुनसुकै विषयमा पनि जनहितलाई केन्द्रमा राखी आवश्यक निर्णय गर्न सक्ने राज्यको एक अभिन्न अंग हो। कहिलेकाहीँ त्यस्ता निर्णय हतारमा, बिनापरामर्श र बिनाछलफल गरिदिनाले मानवीय स्वास्थ्यमा प्रतिकूलता या वातावरणीय क्षतिको कुनै आंकलन पनि गरिएको हुँदैन। यसो भन्दै गर्दा जफत गर्नुहँुदैन भन्ने मेरो आशय पटक्कै होइन, नाम ढाँटिएका, लेबल नलागेका या भ्रामक प्रचार गरिएका र राजस्व छलेका कुनै पनि वस्तुलाई भन्सारबाट, कारखानाबाट, भण्डारबाट, डिपोबाट, पसलबाट या उपभोक्ताको उजुरीबाट या त्यसबाट परिसकेको प्रभावबाट कुनै वस्तु खोज गरी जफत गर्नु या कारबाही गर्नु बहुत आवश्यक हुँदैछ। सरकार या अख्तियारी प्राप्त सरकारी अंगले त्यहीअनुरूप आ­आफ्नो काम गर्नुपर्छ। एकै संस्थामा सबै क्षेत्रमा काम गर्ने व्यक्ति या विज्ञ नरहन सक्छन् या हुँदैनन् नै। अर्को कुरा अनुगमन अनुगमनको नाममा मात्र हुनुहुन्न र यदाकदा त्यसैको नाममा अन्य अभीष्ट जोडिएका घटना पनि सुन्नमा आउँछन् जसलाई सभ्य र सचेत नागरिकले निरुत्साहित गर्नु पनि पर्छ। मुख्यतः त्यसरी भेटिएको तेल खाद्य भए पनि, अखाद्य भए पनि ऊर्जामा परिवर्तन गर्न सकिन्थ्यो।
खाद्य/अखाद्य, मिति सकिएका, अन्य केही मिसिएका या कुनै पनि चिज फ्राइ गरिसकेपछि बाँकी रहेका तेल, जे जस्तो भए पनि त्यसलाई डिजेल जस्तै पदार्थ निर्माण गर्न सकिन्छ र हामीले बनाइरहेका पनि छौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको जैविक ऊर्जा प्रयोगशालामा बायोडिजेल उत्पादन गर्ने कार्य तीन वर्षदेखि लगातार चल्दैछ। बायोडिजेलको प्रशोधन विधिलाई सस्तो र सरल बनाउने गरेर गरिएको अनुसन्धानबाट सजीवनको तेल, लेउको तेलबाट मात्रै हैन, जर्ती तेल (जसलाई हामी वेस्ट कुकिङ ओइल भन्छौं) बाट पनि बायोडिजेल उत्पादन गरी सोही बायोडिजेलबाट लोडसेडिङ्ग भएको बेलामा समेत अनुसन्धान गर्ने उद्देश्यले ४.५ केभिए जेनेरेटरबाट बिजुली उत्पादन गरिराखेका छौँ। केही गर्ने उद्देश्यले जैविक ऊर्जाभित्र अनुसन्धान गर्ने भनी नास्टमा जैविक इन्धनको प्रयोगशाला स्थापना गरी उक्त बायोडिजेलको प्रशोधन प्रविधि स्थापित गर्न सक्षम भएका छौँ। 
यसै उद्देश्यले नेपालका नाम चलेका रेस्टुरेन्ट, पार्टी प्यालेस र होटेलहरुमा सम्भावनाका कुरा राख्दै जाँदा केही संस्थाबाट मात्रै सकारत्मक जवाफ पाए तापनि आफ्नो काममा निरन्तर लागिरहँदा सफलता हात लागेको छ। कति मात्रामा रहेको तेललाई कति उत्प्रेरक पदार्थ राख्ने, कति तापक्रममा बनाउने आदि सम्पूर्ण कार्य सकी त्यसको पाइलट स्केलमा काम गर्ने सोचअनुरूप थप कार्य अघि बढिरहेको छ। अहिलेसम्म भएको अनुसन्धानअनुसार गोदाबरी, धादिङतिरका एक प्रकारका लाइम्स्टोन जस्ता ढुंगा प्रयोग गरी १ लिटर काँचो तेलबाट करिब करिब १ लिटर नै बायोडिजेल उत्पादन गर्न सकिने देखिन्छ। यसरी सरसर्ती हिसाब गर्दा जफत गरेर जलाइएको या गाडिएको भनेको तेलबाट थोरैमा पनि ९,५०० लिटर इन्धन बनाउन सकिन्छ। यसैका आधारमा हिसाव गर्दा यो इन्धन मेचीदेखि सामान बोकेर महाकाली पुर्यायउने ४५ वटा ट्रकलाई एक पटकलाई पुग्छ। यति ठूलो सामान नष्ट गर्दा हामीले सोच्नु पर्दैनथ्यो? 
सजीवनका दाना पेलेर त्यसबाट बायोडिजेल बनाउने भन्दै स्थापना गरिएका दुई वटा बायोडिजेल प्रशोधन केन्द्रमध्ये कच्चा पदार्थको अभावमा पाल्पाका व्यवसायी वैदेशिक रोजगारीमा गइसके भने चितवनका अर्का व्यससायी अनुदानमा पाएको मेसिन मलाई फसाएर छाडे भनेर गुनासो पोख्दैछन्। हामी भने ल्याबमा गर्नुपर्ने सबै काम सकेर अब प्रोटोटाइप निर्माणमा लागिसकेका छौं र त्यो जलाइएको तेल हामीसम्म आउने व्यवस्था मिलाइएको भए आवश्यक इन्धनमा परिणत गरिदिन सक्थ्यौं जसबाट कुनै पनि खालका डिजेल इन्जिन चलाउन सकिन्थ्यो। यसका अलावा दैनिक १६ घण्टासम्म लोडसेडिङ खपेको देशले दुई दुई वटा थर्मल प्लान्ट राखेको छ जसमा हमेसा इन्धन अभाव हुन्छ, पानी मिसिएको इन्धन भन्दै बजारमा हल्ला आइरहँदा त्यो तेल त्यही नजिकै रहेका थर्मल प्लान्टलाई उपलब्ध गरिदिएको भए पनि नेपालीकै कल्याण हुने थियो।
अर्को प्रसंगमा जाउँ। जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूलतालाई ध्यानमा राखी स्थानीय सरकारले गरेको भनेको कार्यक्रम स्वास्थ्य एवं वातावरणीय अनुकूल छ त? तेल बाल्दा निस्कने कार्बन मोनक्साइड, नाइट्रोजन अक्साइड्स, हाइड्रोकार्बन र कार्बन कण आफैँमा विषालु त छँदैछन्, त्योभन्दा पनि बढी, तेल राखिएका पाउचहरु पनि पक्कै निकालेर पोलिएन होला, त्यस्ता पोलिथिन पोल्दा डाइअक्सेन र माथि भनिएका ग्यास उत्सर्जन हुन्छन्, यी ग्यास आफँैमा कार्सिनोजेनिक (अर्बुद रोगका कारक) छन्। हरितगृह असर त्यति धेरै नभए पनि स्वस्थ्यका लागि नै भए पनि हामीले त्यो कार्यलाई निरुत्साहित गर्नैपर्छ। यसरी आर्थिक र प्राविधिक दुवै किसिमले जोखिमयुक्त कार्य गर्नुभन्दा एउटा प्राविधिक टोली रहेको समिति बनाई आवश्यक निर्णय गर्दा यो राष्ट्रको कल्याण नै हुने थियो।
यस्तै अर्को घटना हामी बेलाबेलामा सुन्ने र देख्ने गर्छौं, अवैध घरेलु रक्सीको व्यापार गरेको या ओसारपसार गरेको भन्दै प्रहरी लगाएर ती रक्सीका जर्किन या घैंटाहरुबाट बारीमा या खोलामा रक्सी पोखेको। त्यसरी बनाइएका रक्सीमा प्रायः इथानोल, मिथानोल र एसिटोन मिसिएको पाइन्छ। यीमध्ये इथानोलले मान्छे या ठूलो जीउ भएका प्राणीलाई हानि धेरै नगरे पनि अरु सुक्ष्म जन्तु या वनस्पतिलाई हानि पुर्‍याउँछ तर यसैसँग मिसिएको मिथानोल र एसिटोनमध्ये मिथानल क्यान्सर कारक पदार्थका रूपमा डब्लुएचओले घोषणा गरेको छ। यस्ता पदार्थ मिसिएको रक्सी जफत गर्नु बहुत जायज हुन्छ किनकि घरेलु उपकरण या विधिबाट ती तीन वटा पदार्थ छुट्ट्याउन सकिन्न र जनस्वास्थ्यका लागि पनि प्रतिकूल हुन्छन्। तीमध्ये पनि मिथानल बायोडिजेल उत्पादन गर्न नभई नहुने पदार्थ हो भने एसिटोनलाई चाहिँ पेन्ट या अन्य पदार्थलाई थिनरका रूपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी जफत गरिएका पदार्थलाई पनि औद्योगिक प्रयोजन या ऊर्जा र ऊर्जा उत्पादनमा अति उपयोगी हुने देखिन्छ। 
साभार: नागरिक दैनिक 

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...