पेशागत काम लिएर देशका बिभिन्न भूभाग घुमदा र आफ्नै आँखाले देश दर्शन गर्दा भिन्दै खालको अनुभूति त हुने नै भयो। उस्तै प्रकृतिका भ्रमण गर्दै देश भित्रका बिभिन्न भूगोलको दर्शन गर्दै सम्भाबानाको आंकलन गर्दा जति आनन्द आउँछ त्यति आनन्द हाबाइजहाजको यात्रामा पक्कै हुन्न। काठमांडूबाट चितवन सम्मको यात्रा सदा झै एक तमासको लाग्छ, देखिने नयाँ कुरा खासै केही पनि हुँदैन र सामान्य कल्पना बाहेक चर्को जिज्ञाषु आँखा पनि रहँदैनन्। आफ्नो घर र आफन्त यही सेरोफेरोमा रहने भएकाले अन्त त्यति धेरै यात्रा पनि गरेको थिईन। जब मैले नेपालको पुर्ब र पश्चिमका भूभागमा खास मिसन लिएर यात्रा गर्न थाले, उडेर हैन गुड़न रमाइलो मान्न थाले, मलाई फाइदा र बेफाइदा दुबै दृष्टिगोचर हुंदै गयो। यो लेखको आशय यसै बिषयमा केंद्रित रहेर केहि रोचक प्रसंग जोड़ने रहेको छ। मेरो आशय कसैलाई हियाउने, खिसिटिउरे गर्ने त छँदै छैन, तर एउटा घटनाले मेरो नरम ह्रदयलाई छुराले शेरेको अनुभुति भयो भने अर्को घटनाले आक्रोषित बनायो। एउटा घटना पूर्बको अर्को घटना पश्चिमको छ।
केही समय अगाडी म नेपालको पश्चिम क्षेत्रमा गएको थिएँ। अंतर्क्रियाको क्रममा म कहिले आफ्नो भूमिका बिर्संछू त कहिले जानी जानी बिर्सेको बहना गर्छु। यस्तै क्रममा एक चोटी हामीले अमुक गाउँमा गएर एउटा प्राबिधिक प्रशिक्षण कार्यक्रम आयोजन गर्ने कुरा निधो गर्यौ। थकै, भोक र निद्रालाई उतिसारै वास्ता नगरी सोही गाउँ पुग्यौं। कार्यक्रम शुरू हुनुभन्दा पहिले एउटा राजनैतिक नेताले गर्ने जस्तो प्रश्न गरेँ, तपाईहरुको यो ठाउँको आम समस्या के छ भनेर सोधें। प्रश्न भुइँमा खस्न नपाउँदै एकै श्वरमा बिजुली र चिप्लेको समस्या छ भने। त्यो गाउँमा बिजुलीको पोल थिएन भनेपछि त्यसलाई कोट्याउने चेष्टा नै गरिन किनकी स्वभाबिक थियो। दोश्रो शब्दले भने चुस्स चुस्स घोच्न पो थाल्यो। अनि मैले सोधि हालें "कस्तो समस्या हो, त्यो चिप्ले भनेको चिप्ले किरा हो?" भनेर फेरी सोधें। गललल्ल हाँस्दै भने, हैन, चिप्ले मान्छे हो! भने। लाग्यो हाम्रो तीर बालून खेलने भनेर चिपीच्या ल्ल लै भएको बाँसमा चढ़थे, कहिले लड़दथे, यस्तै केही होला भन्दै एक छीन सोचें। सहभागी मध्य एक जनाले बेली बिस्तार लाउँदै भने; यहाँका मान्छेहरुलाई ३-४ महीना देखि खान पुग्दैन, त्यसैले कामको खोजीमा हरेक बर्ष ५-६ महीना जती भारत तीर स्याउ टिप्न या अरु कुनै कृषिगत कार्य गर्न घर छोडेर जान्छन। जो यहीं रहे, खान त कसैलाई पुग्दैन अनि उ के गर्दो रहेछ भने खाना पाकि सकेको घरमा झ्यालबाट पसी पाकेको खाना कपाकप खाएर भाग्न खोज्दा ऐन मौकाले आइपुगेको घरबेटीले समातने या पुलिसलाई खबर गर्ने आम प्रचलन रहेछ। बिचरा चोर्न त चोर्यो तर चोरेको त्यही एउटा खोक्रो पेट भरन त हो भन्दै चोरहरुले पार पाउने रहेछन। अनि, त्यसैको नाम रहेछ चिप्ले ब्यथा। उनीहरु हाँस्दै गर्दा मेरो मन भने काँचो कर्कलो खाए जस्तो कोकक्यायो। न मैले ती हांसोहरुलाई नहाँस्न भन्न सकें, न मैले ती चिप्ले जिउहरुलाई आक्रोष ओकल्न सकें। ती दुबै बर्गलाई सहानुभूति राख्दै केही न केही गर्नु पर्ला भन्दै गरुङ्गो पाईला उचाली हामी काठमाण्डौं फर्कयौं। कोशिस नगरेको पनि होइन, त्यो कोशिस बिबिध कारणले कामयाब हुन सकेन त्यसैमा पछुतो छ।
ठीक उस्तै प्रकृतिको यो अर्को भ्रमण भने बहुत कष्टकर या घृणा युक्त भएर आयो। काठमाण्डौं बाहिर भएको एक अन्तराष्ट्रिय सम्मलेनमा एक कार्यपत्र प्रस्तुत गर्न भनी टीयु र केयूका केहि सरहरु संगै जाऊँ भनि एउटा डिलक्स बसको टिकेट काट्यौ, कलंकी बाट सबै जना उक्त बस चढ़यौं, र वाईफाईको उपयोग गर्दै, यात्रा सुरु गर्यौं। यो यात्राको एक मात्र मकसत भनेको "जैबिक ऊर्जा: महत्व र सम्भाबना" बिषयक एकल गोष्ठी गर्दै देशका पुर्बी भूभागका बिभिन्न क्याम्पस , प्राबिधिक शिक्ष्यालय, किसान बर्ग, प्राध्यापक गणहरु बीचमा अंतर्क्रिया र छलफल चलाउने नै थियो।
प्रबिधि केन्द्रीय क्याम्पस, धरानका बिद्यार्थी माझ प्रस्तुति/प्रबचन गर्दै |
वाईफाई जडीत बस जसमा यात्रा गर्दा म र एक जाना साथीको ल्यापटप कम्प्युटर चोरी भएको थियो। |
अघिल्ला चिप्लेहरु आफ्नो पेट भर्दै छन भने पछिल्ला चिप्लेहरु बिना स्वादका फाइलहरु चोर्दे मेट्दै अर्काको घाँटी रेट्दै छन। मलाई अहिले बबाले भनेको झल्झली याद आउँछ: भारतीय रेलमा यात्रा गर्दा 'ल है तपाईंहरुको पैसा कहाँ छ यहॉँ त चोर लाग्छन' भन्दै पैसा राखेको ठाउँको भेउ पाउने गरेर सजग गराउँदै, पछि निदाएको ऐन मौक़ा पारेर टपकाएको कथा रस मानी मानी सुनाउनु हुन्थ्यो। ठिक त्यसै गरी वाईफाईको नाम बेच्दै कम्प्यूटर र मोबाइल चोरने चोरहरु र तिनीहरु संग मिलमतो गर्दै बसका खलासी र सम्भबत चालक पनि मिसिएको कुरा चाल पाउन कुनै आइतबार कुर्न पर्दैन। ए ! रमेश खरेल, सक्छौ भने ती दुई ओटा ल्यापटप कंप्यूटर खोजिदेऊ, ताकि अरुको कम्प्यूटरको चोरी पनि रोकिने थियो कि। पुलिस भित्र आश गर्न लायक तिम्रो मात्रै जो छौ।
No comments:
Post a Comment