Tuesday, February 2, 2010

गाऊंमा अभाव, शहरमा अज्ञानता

आफुले आफ्नो कल्कलाउंदो बाल्यकाल बिताएको भूमि, जहां ठेस लागेका ढुंगाहरू, हाम्फालेका कान्लाहरू झनै चुच्चा र अग्ला बने भने मनै त हो किन किन बहलिहाल्छ, उसै माथी बिदाका दिनमा बस्तुका बंगारा घोट्ने चौर उस्तै या झनै उग्लिएको देखेपछि मन पिरोलिनु स्वभाबिक नै हो। फेरिँदै गरेको भूमिको परिधिसंग नजोडिएको साइनो बोकेर बसेको मातृभूमि जहिले पनि आफैलाई स्वागत गरे झैं लाग्छ। सबैलाई यस्तै हुने भएर त होला मलाई पनि भएको। मातृभूमि प्रति अगाध माया भएरै हो नि, यो भएन, त्यों भएन भन्ने गुनासो गर्न पनि मन लाग्ने। यो गर्न पाए हुन्थ्यो कि त्यों गर्न पाए हुन्थ्यो भन्ने भाबना उर्लेर आउंदा साथ दिने जमात फेला पार्नु पनि उत्तिकै ठुलो कुरा ठहरिन्छ। तर भैदिंदो रहेछ के भने, गाऊं छोडेर बाहिर जाने र भित्र बस्नेको भाबनाको बेमेलले गर्दा कता कता ती दुई जमातको बिचमा असामन्जस्य रहेको भेउ पाऊन कुनै दुःख गर्नु पर्दैन। जसरी देश छोडेर बाहिर जाने र देशमै बस्ने बिच रहेको राष्ट्रियता सम्बन्धी खाडल छ, उसै गरि जन्मथलो छोडेर बाहिर बस्ने र भित्रै बस्ने बिच पनि। सबैको आ-आफ्नै लूटे धन्दा चलाउन र जिबनोपयोगी पेशा अपनाउन अब गाऊं त के देशै सानो भैसक्यो। हाम्रो बिकासको चरण र सीमाले गर्दा केही बर्षको प्रबाश बसाईले मान्छेलाई खरो उतार्ने, सक्षम बनाउने र देशको आबस्यकता महसूस पनि गराउने हुनाले उपयोगीसिद्द छ भन्ने कुरा घाम जत्तिकै छर्लन्गै छ।
प्रसंग फेरी आफ्नै :हामी सपरिबार ३ बर्ष अगाडी नेपाल जांदा मलाई एक खालको अनौठो अनुभूति भयो जब मैले बाल कौतुहलता डाँडा पाखा भरी छछल्किएको देखेँ। । यति सफा र मनोरम ठाउँमा बसेका बच्चा धुलो, धुवां, चिच्याहटको गोलचक्करमा कति पीर मान्ला भनेको त उल्टो फर्कंदा पो आपत पर्यो। आखिर आफ्नो भन्ने आफ्नै हुंदो रहेछ। त्यों घर, परिबार, नातेदार, सुभचिन्तकको भिडमा बाऊ, आमा र एउटा अपार्टमेन्ट, कहिले कांही गर्ने म:म पार्टी एकदमै फिका ठहरियो। खेल,भाषा र रहन सहनमा एक रुपता नआएपनी एक पर्यबेक्षक मित्रकै भूमिकामा नै सही, एक निमेशमै देश बुझे झै घुलमिल भयो। यसै क्रममा ऊ गाउँ र बजारको स्कुल गयो। अंग्रेजी पढेर के गर्नु, मास्टरले पिटिपिटी घोकाको छ, ऊ झसँग भयो, भो म यो स्कुलमा पढ्दिन भन्यो। हुन त हामीले पढ्न भनेर पठाएका थिएनौ, ऊ स्कुल पुगेर फर्केर आउँदाआउंदै भन्यो "ति मास्टर्लाई नै सिकाउनु पर्ने रहेछ, हामीलाई के सिकाउने?" केही दिन भित्र फेरी गयो गाउँको स्कुल जहाँ शैक्षिक सामाग्रीको नाममा एउटा कालोपाटी छ, चक छ, र एउटा छडि। बस्ने बेन्च र टाउको छेक्ने टिनको पाताले छोपेको चिटिक्कको घर? फेरी प्रश्न गर्‍यो "यत्ती हो स्कुल भबन? तपाईंले पढेको प्राथमिक बिध्यालय यही हो? पढ्ने लाइब्रेरी खै त? तपाईं यस्तै स्कुल पढेर जापान जाने हुनु भएको हो? म नतमस्तक भएं, म त अझ थर्कटीको कथा भनेर रोमान्चित पारौं भनेको उसको फेरिएको अनुहार हेरेर अर्कै स्कुल हो मात्रै भनें,तत्काल बढी केही भनिन। हुन त त्यो स्कुल हामीले पढेको स्कुल भन्दा धेरै स्तरीय थियो। घर नजिकै थियो, सिमेन्ट, रडले बनाएको बकाइदाको घर थियो। १-२ कक्षा पड्दा त हामीहरु थर्कटी बोकेर जान्थेयौ। हुनत तिनै स्कुलका अग्रजहरु हेरेर चित्त बुजाउने बाटो जत्ति पनि थियो। र पनि फेरिएको जमाना र महत्वकांक्षा धान्न सक्ने हालतमा पक्कै छैनन। यस्तै सोच्दै थिएं, अनायास ऊ बोल्यो, केही सोचेछ क्यारे, फेरी थप्यो, "तपाईं जत्तिको भएर हुने भए त म यहीं पढे पनि त होला नि।" बसाइ लामो थिएन, धेरै समयको अनुभब बटुल्ने मौका पनि मिलेन। नेपालबाट फर्किन्दै गर्दा मैले सोधेको प्रश्नको उत्तरमा समेटिएको उसको बिश्लेशण यस्तो रह्यो: प्रक्रितीले भरिएको गाउँमा अभाब धेरै छ, केही सम्पन्नता भएपनि शहरमा अझै अज्ञानता। दुबै ठाउँमा दुबैको अभाव भए पनि मुख्य समस्या यही नै हो भन्ने मेरो पनि ठम्याई छ।
बांकी अर्को भाग।


No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...