नेपाल एक स्वाधीन राष्ट्र भएको हुनाले हामी स्वाभिमानी नागरिक भएर बांच्ने सौभाग्य पायौं। यसरी शिर उचो बनाएर बाँच्न पाउने बिश्वका थोरै मुलुक मध्य हामी पनि एक रह्यौं। तर अफसोच, यसैको ब्याज खाँदै हामीलाई सामन्ति संस्कारको जालोले छोपियो र अन्तत्वगत्वा हामी पुन घरेलु उपनिबेशमै कैद गरियौं। हामी धेरै लामो समयसम्म एक छत्रीय राजनितिबाट निर्देशित भयौं, एकादेशका भन्दा पनि एकाघरका प्राणी भयौं, किनकी हामीले राज्यको अनुभूत गर्नै पाएनौं। हाम्रो बिकास र प्रगति मूलत ब्यक्तिगत हुन पुग्यो, खरका झुपडिहरुले रूप फेर्दै टिन, टायल या ढुंगा भए र केही बहुत सिमित साना ठुला शहरमा मात्रै अनियन्त्रित तरिकाले आर्सिसिका घर बने जसलाई हामीले बिकास हो भन्ने भ्रम पालेर बस्यौं, या बस्न बाध्य बनाइयो। तर हामी वरिपरीको बिकास भने सिर्फ समयले बोकेर आयो जून स्वभाबत ढिलो हुन्छ। यसैले अरुको इतिहास हाम्रो बर्तमान भयो, अन्य देशमा संग्रालयमा राखिएका पुराना सामाग्रीहरु हाम्रा सहारा बनिरहे। हाम्रो सामन्ती संस्कारको जगले गर्दा थोरै प्रगति हुंदा पनि हामी अहम् देखाउने भयौं। उता सयौं बर्ष सम्म राज गर्नेहरूले नै यो प्रकृतिको संरक्षण हैन कि दहन गर्ने काम गरे र हामी दर्शक बन्यौं। देश बिकासमा अपरिहार्य हुने बिज्ञान र प्रबिधिलाई कुनै महत्व नदिई संस्कृत र भाट नैतिक शिक्षालाई ठुलो महत्व दिइयो। सामाजिक शिक्षामा जनताको जिबनोपयोगी बिधालाई आँखा चिम्लिएर उनै राजपरिवारको गाथा गाउने बिद्या बनाइयो। हुंदा हुँदै हामी त सिर्फ बीर नेपालीको गीत, अनि हरियो बन र हिमालको भजन गाउने भजन मण्डली बन्यौं।
बिस्तारै उठेको राजनैतिक सचेतनाले त्यों एकदलीय शासन त फाल्यौ, तर संस्कार फाल्न सकेनौं। अनि डम्फ़ु पिट्यौ, हाम्रो संबिधान संसार भरिको उत्तम संबिधान भनेर। बर्षों सम्म थिचिएर रहेका नयाँ बर्ग नयाँ चिजलाई संस्थागत गर्न हैन कि पुरानालाई बिस्थापन गर्न कम्मर कसेर लागे। तर केही नलागे पछि सम्झौता गर्दै राज्यको हाली मुहाली गर्न थाले र समाजमा नया तरिकाले भ्रष्टाचार मौलाउन थाल्यो। उनीहरुकै अग्ला घर र चिल्ला गाडीले शहर त केही परिबर्तन भयो, तर गाउं जस्ताको तस्तै। यही परिबेशमा तत्कालीन नेकपा माओबादीको जुर्मुराहटमा दूरदराज जुरुक्कै उठ्यो, शहर काम्न थाल्यो, छिमेक टोलाउन थाल्यो, केंद्रको कुर्ची अस्थिर बन्यो, हजारौं सपूतहरु समाज परिबार्तनको लागी आफ्नो जीबन आहुति दिन तयार भए। कहलिएका मालिकहरु पाखा लगाइए, हतियारको कमिशनमा ह्राल चुहाउनेहरु धर्मराउन थाले। यसैको फल स्वरुप सिमित क्षेत्रमा उठान गरिएको यो जनयुद्ध नेपालको सीमा नाघेर बिश्व बजारमा पुग्यो। हजारौं बालबालिकालाई टुहुरा बनाएर, कयौ घर उजाड़ बनाएर, सयौलाई अन्योलको भुमरिमा राख्दै यो जनयुद्दले ठुलो परिबर्तन लिएर आयो। तर यो परिवर्तनलाई अत्मासात गर्न नसक्नेहरु, यो या त्यो बहानामा यसलाई रोक्ने या धिमा गतिमा अगि बड्न दिने पक्षमा छन ताकी उनिहरुको २०४७ साल ताकाको परिवर्तनलाई यो परिवर्तनले माथ नगरोस। अहिले पनि बेपत्ता तथा शहीद योद्धाहरुको सम्मान त परै जाओस, मानमर्दन गर्दै त्यही जनयुद्धको हुर्मत लिन केही जमात कम्मर कसेर लागि परेको छ। उनिहरुलाई राम्रै सँग थाहा छ, यो युद्ध नभएको भए न हिमालका भोटेहरु, न मधेशका थारु, चौधरी र मुशहरहरु न खसानका खसहरु, न तम्सालिङका तमाङहरु न लिम्बुवानका लिम्बुहरु आफ्नो बोली लिएर उठ्न सक्ने हैसियतका रहने थिए। त्यसैले, फेरी पनि नयाँ भ्रमको खेती गर्न खोजिंदै छ, देश टुक्रन्छ भन्दै। देश जनताको लागि हो, नकि भुमिको लागि। त्यसैले जनताको भाबनालाई समेटदै नयाँ नेपाल बनाउन लागि परेनौं भने हामीलाई फेरी कसैले माफ गर्ने छैन। तर समस्या यहीँ नेर छ, मान्छे उही, आँखा उही, गोही र बकुल्ला उस्तै ध्यानमा, अनि के बन्छ नयाँ? नयाँ बनाउन पुरानो केही त छोड्नु पर्यो नि। न कमीशन छोड्न मन लाग्छ, न कुर्चि बुझाउन मन लाग्छ। अनि सोचौं, कसरी बन्छ नयाँ नेपाल? अहिले हामी यस्तो सङगीन घडी र मोडमा छौं जहाँबाट हामी कुनै एक गन्तब्यमा पुग्न सक्छौँ। कुबाटो हिंड्यौं भने अन्धकार, घृणा, द्वेष र कुण्ठाको आहालमा पौडी खेल्न पुग्छौं र हामी सदाको लागि आदिम मान्छेको कोटरीमा थन्किन्छौं। सुबाटो हिंड्यौं भने उज्ज्वल, समता, उत्कण्ठता बोकेको स्वच्छ पोखरीमा पौडी खेल्न पुग्छौं र प्रकृतिको छटा र बिबिधताले भरपुर एक सुन्दर एबम शान्त देश नेपाल बन्ने छ।
जसरी मलेरियासँग बिजय पाउन जङगलमै छाप्रो हालेर कयौं पहाडी मुलका मान्छेले समथर भुमिलाई हराभरा पारे, त्यसरी नै ऐले फेरी तिनै पहाडमा स्याउ, केरा, सुन्तला फलाएर र सिसौ, सल्लो धुपी र कटुस हुर्काउँदै कृषि क्रान्ति गर्न जरुरी छ, अनी मात्रै निर्बहामुखी कृषिको भरमा निर्बहा पनि गर्न नसक्ने कृषकको जीबन फेरिनेछ। पानी पिउन नपाउने, फोहोर फाल्न नसक्ने, जागिर खोज्न नसक्ने शहरीयालाई अनुशासन, नैतिकता र जिपनोपयोगी शिक्षा दियौं भने शहर सधैंको लागि शान्त र सम्रिद्ध हुन्छ। किट्नाषक औषधी र बिषाक्त मिसिएको भुगर्भीय पानी खान बिबश तर देशलाई नै अन्न खान पुर्याउने, अनि राजनैतीक अधिकारले पिछडिएका ति तराइका जनताहरुलाई अधिकार, सचेतना र योजना दिने हो भने हामीले कुनै उथल पुथल र क्रान्तिका गफ कहिल्यै गर्नु पर्दैन। हरेक हिमालय श्रेणीको फेदमा ५०-५० जना अटाउने लज बनाइदिने हो भने पर्यटक बोलाउन कुनै पनि पर्यटन मन्त्री युरोप जानु पर्दैन। न तिनै हिमालका बासिन्दालाई आफ्नो अपायक भूमि देखेर वाक्क लाग्छ। पर्यटक बोलाउन हामी कति खर्च गर्न सक्छौं, तर तिनिहरुको बसाइ तन्काउन तिनिहरुलाई नुहाउने पानी दिन सक्दैनौं। त्यसैले हाम्रो अहिलेको दायीत्व भनेको देशको भुगोल सुहाउँदो, जनतालाई चित्त बुझ्दो र समय सापेक्ष्य नयाँ नेपाल बनाउने हो।
नयाँ नेपाल बन्न चाहिने भाबभूमि अहिले तयार भै सकेको स्थिती छ। जसरी एक लोहारले फलाम तताएर पिट्न थाल्छ, त्यसरी नै एउटा राजनैतिक परिवर्तन पछिको यो माहोलमा नहान्ने हो भने यसबाट हामी नयाँ नेपाल त के पुरानो नेपालमा पनि फर्काउन सक्दैनौँ। समयको गतिलाई नबुझी यसैलाई रोक्न प्रयत्न गर्नेले रोकिएको साइकलको नियतिलाई बुझ्ने कोशीष गर्नु पर्छ। जनतालाई खिसिट्युरी गर्दै जनताको अभिमतलाई बेवास्ता गर्नेले नियमत: नयाँ चिज बनाउन खोज्दैन। नयाँ नेपाल बन्न त परिवारबादबाट बाहिर निस्कनु पर्छ, कुर्चिमा उक्लिने र ओर्लने समयको भेउ पाउनु पर्छ, कनिका हैन नियमित चारा बटुल्नु पर्छ, फुर्सदको समयमा पार्टी फुटाउने हैन, मनांग, डोल्पा, दैलेख र संखुवासबा डुल्नु पर्छ, अनि बन्छ नयाँ नेपाल। अहिले सम्बृद्ध भएका केही मुलूकहरू युद्ध पछि बिकासको फड्को मारेका छन, र यसको ज्वलन्त उदहारण यही जापान हो। एक चोटी नेतृत्व प्रति बिश्वास जाग्यो भने, क्यारेम बोर्ड र दहरमारा खेल्ने सबै जनता गल, घन र गैंची बोकर घर घरबाट निस्कनेछन। कुनै एउटा पुस्ताले दु:ख नगरी कुनै पनि देश बनेको उदाहरण छैन, जसको अपबाद नेपाल हुनै सक्दैन। यसैले नयाँ नेपाल बनाउने एक गहन जिम्मेवारी र चुनौती हाम्रो काँधमा आएको छ, जो यो यथार्ततालाई स्विकार्दैन र यसको बाधक भएर आउँछ, उ बढारिएर जाने छ। जसको पहिलो दृश्य हामीले देखी सक्यौं। आशा गरौँ, हामी भित्र र हाम्रो नेत्रित्व बर्गसँग दर्हो इच्छा शक्ति छ, जसले यो अभियानलाई पुरा गरेर छोड्नेछ।
No comments:
Post a Comment