लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
तिब्बतको त्यो पखेरो, सुरु भयो दुखको दिनगन,
रसुवा, नुवाकोट र धादिंग, पुग्यो गोरखा अनि चितवन ।
तिब्बतको हिउँ फुट्दा, सिमाना जो हल्लियो,
अध्यागमनको त्यो बिजोगले, सारा मुटु जलिगो ।
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
कागजपत्र, सरकारी अड्डा, भेलले
बाँकी छोड्यो के?
नाका बन्यो मसानघाट, उर्जाघर बने डहर, छन् अब हेर्न के ।
पुल छैन तर्नलाई, सडक छैन हिँड्नलाई,
बाँचेका ती मान्छेलाई, छैन गाउँ चिन्नलाई।
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
पूर्वचेतावनी
टेरेपो, लियो ज्यान
अटेरी र सेल्फिले
स्वदेशी त रोए-रोए, विदेशी नि गए भुलैले
सुन्दर सपना बोकी आउने, पर्यटक सब ओइलाए।
कहाँ पुगे ती पाहुनाहरू, कुन लेदोले पुर्यो खै ?
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
अस्ति
भर्खर रोपेको, त्यो रोपो छैन
खेतमा,
घरबार सब पुरियो आज, हिलो अनि बगरमा।
खाने अन्नको भकारी छैन, भाग्य सबै उल्टिए,
भोकले ती केटाकेटी, रुँदै भुइँमा पल्टिए।
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
सुरुङभित्र थुनिएका, आश बोकेका कहरमा चिप्लिए,
बग्दै बग्दै भारत पुग्दा, हेर्ने आँखाहरू चस्किए।
कठै हाम्रो देशको सिमाना, कति सस्तो ज्यान भयो,
आफ्नै गाउँको माटो छोडी, परदेश सम्मै घाट भयो।
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
चिल्ला
गाडी चढी आउने, सुकिला ती
मान्छेहरू,
बस्ती रोएको ठाउँमा, सेल्फी खिच्छन् केहीहरू।
राहतभन्दा यहाँ आज, तस्बिरको लडाइँ छ,
पीडितको घाउमाथि, सस्तो रमिताको कढाइ छ।
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
नबसोस्
अब बस्ती कुनै, खोलाको यो
तीरमा,
पार्नु हुन्न देशलाई फेरि, यस्तो ठूलो पीरमा।
तताएका हामीले होइन, वायुमण्डल अरूले,
धनी देशको पापको श्राप, भोग्नुपर्ने हामीले?
कार्बन फाल्ने धनीले, मूल्य तिर्ने हामीले?
हाम्रो हिमाल पग्लेको दोष, लिने पर्छ तिमीले !
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
त्राण भर्ने कोसिस गरोस्, हाम्रो उजाड छातीमा,
न्याय चाहिन्छ नेपालीलाई, यो धर्तीको माटोमा।
रसुवा जस्तै नुवाकोटको, मुटु आज च्यातियो,
मानवीय क्षतिको रूप हेर नराम्रोसंग गाँजियो ।
आँखाकै अगाडि मृत्यु, आँखै अगाडि काल आयो,
भेलले सोहोरी लैजाँदा, कसले के नै चाल पायो?
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
उठ्नुपर्छ फेरि हामी, देश यो बनाउनलाई,
पुनर्निर्माणको जग हाली, आँसु यो पुछ्नलाई ।
धमिलो यो त्रिशूलीलाई, सफा पार्नु पर्नेछ,
भत्किएका बस्तीहरू, फेरि अब ठड्याउनुछ ।
भत्किएका बस्तीहरू, फेरि अब ठड्याउनुछ ।
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!
No comments:
Post a Comment